एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरु ओली सामू लम्पसार परेहुन्छ
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी खोलेर कुनै गल्ती नगरेको बताएका छन् ।
पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले एमालेसँगको विद्रोहको औचित्य अझै पुष्टि हुन नसककेको भन्दै प्रश्न उठाइरहेका बेला नेपालले नेकपा एस नामको पार्टी खोलेर कुनै गल्ती नगरेको बताएका हुन् ।
उनले एमालेविरुद्ध विद्रोहको औचित्य थिएन भन्ने नेताहरूलाई केपी ओलीका सामू लम्पसार हुन तयार भएको टिप्पणी गरे ।
बुधबार पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले भने–‘एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन।’
एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई संकेत गर्दै पार्टी छोडेर जान चुनौती दिंदै उनले भने–‘चुनौती आइरह्नछन्। ती चुनौतीको सामना गर्नुपर्छ। हामीले चुनौतीको समाना गरेका थियौं।’
प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार
















