अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते
रुकुमपूर्व। रुकुमपूर्वको भुमे गाउँपालिका-१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा शनिबार साँझ अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको अनुसार शनिबार राति लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा १ ह ६७९७ नम्बरको अटो सडकबाट करिब ३०० मिटर तल खसेको हो ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुकुमपूर्व अस्पताल ल्याइएको थियो। अस्पतालका अनुसार उपचारका क्रममा भूमे-१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका २६ वर्षीय प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीय ब्युटी पुन, २ वर्षीया समृद्धि पुन र ३ वर्षीय सक्षम घर्ती सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
अटो चालक भूमे–१ लुकुमका २९ वर्षीय जोते घर्ती फरार रहेका छन् । उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार
















