दाउन्नेमा चार दिनदेखिको जाम यथावत्, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
परासी । लगातारको वर्षापछि असहज बनेको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने खण्डमा चार दिनदेखि जाम हटेको छैन ।
पानी पर्न रोकिए पनि सडकमा हिलो नसुक्दा र विभिन्न स्थानमा सवारी बिग्रँदा सडक आज पनि एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।
सडक चिप्लो भएकाले मालवाहक सवारीहरू उकालोमा अड्किने क्रम रोकिएको छैन। दाउन्ने खण्ड पार गर्न अहिले ५ देखि ६ घण्टासम्म लाग्ने गरेको स्थानीय प्रशासनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार, अत्यावश्यकबाहेकका सवारी साधनलाई हालका लागि यो खण्ड भएर यात्रा नगर्न अनुरोध गरिएको छ ।
प्रशासनले यात्रुहरूलाई बुटवलबाट काठमाडौं जाँदा पाल्पा हुँदै पोखरा–मुग्लिङ मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार
















