चितवनमा ५ लाख ६९ हजार बढी स्वास्थ्य बिमामा आवद्ध
चितवन । चितवनमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या पाँच लाख ६९ हजार नाघेको छ ।
स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय चितवनका अनुसार जिल्लामा बसोबास गर्ने स्थायी र अस्थायी गरी पाँच लाख ६९ हजार ८३६ जनाले स्वास्थ्य बिमा गरेका छन् ।
स्वास्थ्य बिमा गर्नेको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएसँगै बिमा कार्यक्रम लागू भएका अस्पतालहरूमा बिमामार्फत उपचार गर्नेको चाप पनि बढेको छ ।
भरतपुर सरकारी अस्पतालमा उपचार गराउने बिरामीमध्ये करिब ७५ प्रतिशत बिरामी बिमाका हुने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताउनुभयो । सरकारी अस्पतालमा बिरामीको खर्च भएको रकम मध्ये १० प्रतिशत भुक्तानी दिनुपर्छ भने अन्य नीजि मेडिकल कलेजमा बिमा मार्फत उपचार गर्दा २० प्रतिशत भुक्तान गर्नुपर्ने हुन्छ ।
भरतपुर अस्पतालमा एक दिनमा १४ सय जनासम्म बिमाका बिरामीले ओपिडी (बहिरङ्ग सेवा) लिएको पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य बिमा बोर्डले भरतपुर अस्पताललाई पुस मसान्तसम्मका लागि प्रथम सेवा विन्दु कायम गरेको छ ।
जिल्लामा स्वास्थ्य बिमामार्फत उपचार गराउन नौवटा अस्पताललाई प्रथम सेवा विन्दु तोकिएको छ । ती अस्पतालमा बिरामीले सोझै बिमामार्फत उपचार गराउन पाउँछन् ।
बिमा कार्यक्रम भएका अरू अस्पतालमा उपचारका लागि प्रथम सेवा विन्दु कायम भएका अस्पतालबाट रिफर लिएर जानुपर्छ ।
भरतपुर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, बघौडा अस्पताल, कालिका नगर अस्पताल, खैरहनी नगर अस्पताल, रत्ननगर बकुलहर अस्पताल, भण्डारा अस्पताल र इच्छाकामना आधारभूत अस्पताललाई प्रथम सेवा विन्दु तोकिएको छ ।
चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, गुञ्जमान सिंह अस्पताल र भरतपुर आँखा अस्पताललाई दोस्रो सेवा विन्दु कायम गरिएको छ । भरतपुर आँखा अस्पताललाई समेत प्रथम सेवा विन्दुबाट हटाइको छ ।
स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय चितवनकी संयोजक डोलकुमारी पौडेलले जिल्लाका १३ वटा अस्पतालमा बिमा कार्यक्रम लागू भएको बताउनु भयो । तीमध्ये नौ वटालाई प्रथम सेवा विन्दु र चार वटालाई दोस्रो सेवा विन्दु तोकिएको छ । भरतपुर अस्पतालमा २०७४ सालदेखि स्वास्थ्य बिमा सञ्चालन हुँदै आएको छ ।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार
















