प्राविधिक एसएलसीको नतिजा अायो


 


काठमाडौं, असार १३

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्राविधिक एसएलसीको नतिजा प्रकाशित गरेको छ। कार्यालयले प्राविधिक धारबाट पहिलो पटक एसएलसी दिएका विद्यार्थीको नतिजा पास फेलमा नभइ ग्रेडिङका आधारमा प्रकाशित गरेको हो।  प्रकाशित नतिजा अनुसार ‘ए प्लस’ ग्रेडमा २ सय १५ जना, ‘ए’ ग्रेडमा ७ सय ८९ जना, ‘बी’ मा २ हजार १ सय ३१ जना उत्तीर्ण भएका छन्। यसै गरी ‘सी’ १ सय २४ र ‘डी’ मा १ जना उत्तीर्ण भएका छन् । प्रकाशित नतिजा अनुसार ‘ई’ ग्रेड कसैले ल्याएका छैनन्।

कक्षा नौदेखि नै प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीले यस वर्ष पहिलो पटक एक हजार पूर्णाङको परीक्षा दिएका थिए। परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेका अनुसार विद्यार्थीले प्राप्त गरेको नम्बरको आधारमा ग्रेडिङ छुट्टाइको हो। ९० देखि १०० प्रतिशतको बीचमा अंक ल्याउने विद्यार्थीलाई ए प्लस ग्रेड, ८० देखि ८९ सम्म ल्याउनेलाई ए, ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई ‘बी’, ४० देखि ५९ ल्याउनेलाई ‘सी’, २५ देखि ३९ ल्याउनेलाई ‘डी’ ग्रेड र २५ भन्दा कम ल्याउनेले ‘ई’ ग्रेड प्राप्त गरेका हुन्।
कार्यालयका अनुसार यस वर्ष प्राविधिक विषय तर्फ ३ हजार २ सय ८८ विद्यार्थीले परीक्षा दिएका थिए।

प्रकाशित मिति: १३ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्