रौतहटमा २२८ जनाको निःशुल्क आँखा परीक्षण
रौतहट २२ कात्तिक। रौतहटको दुर्गा भगवती गाउँपालिका–२ पिपरा भलोहियास्थित सरस्वती माध्यमिक विद्यालयमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
रुइत फाउण्डेशनको आर्थिक सहयोग, दुर्गा भगवती गाउँपालिकाको समन्वय तथा नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा आयोजित शिविर शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको थियो।
शिविरमा कुल २२८ जनाले आँखा परीक्षण गराउनुभएको थियो, जसमा ११९ जना महिला र १०९ जना पुरुष रहनुभएको थियो । गौर आँखा अस्पतालका कर्मचारी तथा शिविर संयोजक सत्येन्द्र पाण्डेका अनुसार परीक्षणमा सहभागीमध्ये १२६ जनालाई औषधि र ७ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ ।
त्यसैगरी, ८२ जनामा मोतिबिन्दुको समस्या पाइएको र उहाँहरूको निःशुल्क शल्यक्रिया गरिने संयोजक पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार ती बिरामीहरूलाई अस्पतालको बसमार्फत आइतबारदेखि मङ्गलवारसम्म गौर आँखा अस्पताल पुर्याइने र शल्यक्रिया पछि पुनः घरमै पुर्याइदिने व्यवस्था गरिएको छ ।
शिविरको उद्घाटन दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, गौर आँखा अस्पतालका प्राविधिक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार
















