कागारबाट छुटेकै दिन श्रीमतीको हत्या, श्रीमतीले नै धरौटी तिरेर छुटाएकी थिइन् !



पर्वत । पर्वतमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको मोदी गाउँपालिका-६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् ।

मंगलबार विकले श्रीमती सीतामाथि कुटपिट गरेका थिए । त्यसपछि उनकी बुहारी शोभा विकले ससुराले सासूमाथि कुटपिट गरी रगताम्य बनाएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

शोभाले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीताको उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

अभियुक्त जीतबहादुर वैवाहिक जबरजस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् ।

घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ । उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन् भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए ।

अभियुक्त जीतबहादुरलाई स्थानीयको सहयोगमा पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्