सिरहाबाट ठूलो परिमाणमा गाँजा बरामद, दुईजना पक्राउ
सिरहा। सिरहाबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ।
जिल्लाको लहान नगरपालिका १ स्थित पूर्व-पश्चिम राजमार्गमा आइतबार राति साढे ११ बजे प्रहरीले मालवाहक ट्रकबाट गाँजा बरामद गरेको हो।
चेकजाँचका क्रममा ना।६ख ३२०९ नम्बरको ट्रकबाट एक हजार ५५ किलो गाँजा बरामद भएको सिरहा प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले ट्रकको अगाडि र पछाडि फलामको बक्सभित्र प्लास्टिकले बेरेर राखिएको अवस्थामा ११२ वटा बोरामा प्याक गरिएको गाँजा फेला पारेको थियो। उक्त ट्रक मिर्चैयाबाट रुपनीतर्फ गइरहेको थियो।
ट्रक चालक धर्मदेवी नगरपालिका ९‚ संखुवासभाका २४ वर्षीय टंक विश्वकर्मा र सह(चालक धनकुटा छथर जोरपाटी गाउँपालिका २ का २२ वर्षीय खेम रानामगरलाई प्रहरीले पक्राउ गरेको छ ।
गाँजा सीमावर्ती क्षेत्र हुँदै भारत निकासी गर्ने तयारीमा रहेको प्रहरीले बताएको छ।
बरामद गाँजा र पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार
















