संविधानसभा बैठक सर्यो


 


काठमाडौं, असार १४

सोमबार तीन बजे बोलाइएको संविधानसभा बैठक साँझ सात बजेलाई सारिएको छ। संविधानसभा सचिवालयका अनुसार मस्यौदा समितिले संविधानसभा अध्यक्षलाई प्रतिवेदन बुझाउन ढिला गरेका कारण बैठकको समय सारिएको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए।

मस्यौदा समिति स्रोतका अनुसार समितिले तयार पारेको मस्यौदाको छपाईको काम पुरा नभएकाले प्रतिवेदन बुझाउन ढिला भएको हो। मस्यौदा समितिले पारित गरेको प्रारम्भिक मस्यौदाको छपाईको काम भइरहेको सचिवालयले जनाएको छ।
यसअघि संविधानसभाको एकीकृत प्रारम्भिक मस्यौदालाई संविधानसभामा कसरी प्रस्तुत गर्न भन्ने विषयमा सहमति जुटाउन कार्यव्यवस्था समितिको बैठक बसेको थियो। बैठकमा मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदाका विषयमा छलफल भएको थियो।
कार्यव्यवस्था समितिको बैठकले तीन बजेका लागि तय गरिएको संविधानसभाको बैठक साँझ सात बजे सारिएको हो। आइतबार मस्यौदा समितिले पारित गरेको मस्यौदा आजै संविधानसभा अध्यक्षलाई बुझाउने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १४ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्