‘एण्टीमाइक्रोबियल रेसिस्टेन्स आधुनिक विश्वको गम्भीर जनस्वास्थ्य चुनौती’
नेपालगञ्ज ८ मङ्सिर। एण्टीमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) अर्थात् प्रति जैविक प्रतिरोध आधुनिक विश्वको गम्भीर जनस्वास्थ्य चुनौतीका रुपमा देखिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई साइलेन्ट प्याण्डेमिक (मौन महामारी) को रुपमा घोषणा गरिसकेको छ । सन् २०२४ देखि विश्वभर हरेक बर्ष नोभेम्बर १८-२४ लाई ‘विश्व एण्टीमाइक्रोबियल रेमिटेन्स सचेतना सप्ताह’ का रुपमा मनाउन थालिएको छ । यस बर्ष पनि विश्वभर मनाइएको छ ।
यसै अवसरमा नेपालगञ्जमा पनि आज एण्टीमाइक्रोबियल रेमिटेन्स सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एएमआरको दुष्प्रभाव, जोखिम र रोकथामका विषयमा छलफल गरिएको छ । दीर्घकालीन रुपमा जनचेतना र सावधानी अपनाएर रेसिस्टेन्सलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाको जोड छ । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले एएमआरबारे प्रस्तुतीकरण गर्दै यसको विश्वव्यापी प्रभाव र अपनाउनुपर्ने सजगताका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्री, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सचिव बसन्त गौतम, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डा. गणेश बहादुर पुन, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, केएल दुगड ग्रुपका सिइओ प्रदीप छाछेड लगायतले यसको रोकथामका लागि सबै सरोकारवाला गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । खाद्य स्वच्छतालाई ध्यान दिन सबैको आग्रह छ ।
मानव स्वास्थ्य क्षेत्रमा एन्टिबायोटिकको दुरुपयोग, पशुपालन र कृषिमा एन्टिबायोटिकको प्रयोग, पर्यावरणीय प्रभाव, कमजोर संक्रमण रोकथाम र नियन्त्रण प्रणाली लगायतका कारणले एएमआर बढिरहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । कार्यक्रमको सहजीकरण खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य निरीक्षक रामहरि लामिछानेले गर्नुभएको थियो ।
एन्टिमाइक्रोबियल रेमिटेन्स भनेको कुनै पनि सूक्ष्म जीव जस्तै: ब्याक्टेरिया, भाइरस, फंगस र परजीवी विरुद्ध प्रयोग गरिने औषधिहरूले काम गर्न छोड्नु भन्ने बुझिन्छ । हरेक वर्ष करिब ७ लाख भन्दा बढी मानिसको एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारण मृत्यु हुन्छ । यदि तत्काल यसका सवालमा कदम चालिएन भने सन् २०५० सम्म यो सङ्ख्या हरेक वर्ष १ करोड मृत्यु पुग्ने आकलन गरिएको छ ।
संसारभरिको मृत्यु मध्य ९ प्रतिशत मृत्यु एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारणले हुन्छ । सन् २०१९ मा १३.७ मिलियन मृत्यु संक्रमण सम्बन्धित मृत्यु भएको थियो, जसमा १.२७ मिलियन मृत्यु एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धित सङ्क्रमणबाट भएको थियो ।
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार
















