सुनसरीमा हवाई फायर गरी १५३ किलो गाँजा बरामद
सुनसरी। सुनसरीमा सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी गाँजा बरामद गरेको छ ।
जिल्लाको इनरुवा नगरपालिका-७ स्थित चाँदवेलाबाट आज बिहान सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी १ सय ५३ किलो गाँजा बरामद गरेको हो ।
सोही क्रममा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी हुन् ।
चाँदवेलाबाट दक्षिणतर्फ जाँदै गरेको बा१५च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को२ प ८३३१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लास्टिकको प्याकेटमा बेरेर राखिएको अवस्थामा गाँजा फेला परेको थियो ।
गाडी र मोटरसाइकललाई अन्य मोटरसाइकलमा आउँदै गरेका व्यक्तिले स्कर्टिङ गरी ल्याउँदै गरेको अवस्थामा सो गाँजा नियन्त्रणमा लिने क्रममा नेपाल बोर्डर आउट पोस्ट साहेवगञ्जबाट खटिएको सशस्त्र प्रहरीले १ राउन्ड हवाई फायरसमेत गरेको थियो ।
नियन्त्रणमा लिइएका व्यक्ति स्कारपियो गाडीका चालक रहेका छन् भने मोटरसाइकल चालक भने फरार भएका छन् ।
चौधरीलाईआवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार
















