मोटरसाइकल दुर्घटना हुँदा प्रधानाध्यापकको मृत्यु
रुकुमपश्चिम, मंसिर १२ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ बास्तलामा मोटरसाइकल दुर्घटनामा परेर एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
कर्णाली प्रदेश ०३–००१ प ०६१३ नम्वरको मोटरसाइकल विहीबार बेलुकी दुर्घटना हुँदा गोरेकाडा आधारभूत विद्यालयका प्रधानाध्यापक झलक खत्रीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक बाँफिकोट गाउँपालिका–७ चिमारचौर निवासी २९ वर्षीय हरिभान खत्री घाइते भएका छन् । उनको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
प्रहरीका अनुसार नदुवाबाट राडीतर्फको भित्री सडकमा अनियन्त्रित भएर मोटरसाइकल नालामा खसेको थियो ।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार
















