चन्द्रागिरि केबलकार आजबाट पुनः सञ्चालनमा



काठमाडौं । लामो समय बन्द रहेको चन्द्रागिरि केबलकार आजबाट सञ्चालनमा आएको छ ।

केबलकारको मर्मत गरिएपछि मंसिर १५ गते सोमबारबाट केबलकार पुनः सञ्चालनमा आएको हो ।

गत भदौ २३ र २४ गते देशभर भएको जेनजीको विरोध प्रदर्शनका क्रममा चन्द्रागिरि हिल्सको केबलकारमा पनि आगजनी र तोडफोड भएको थियो । प्रदर्शनकारीले केबुलकारको तार, गोन्डला सहित बेस स्टेसनमा आगजनी र तोडफोड गरी क्षति पुराएका थिए । त्यसपछि सुरुमा मर्मत गरेर कात्तिक २० गतेबाट सञ्चालन थालिएको थियो ।

तर पुनः सञ्चालनमा आएको दुई दिनमै केबलकारमा थप समस्या देखिएपछि सुरक्षाको कारण सेवा पुनः बन्द गरेर केबलकारका सम्पूर्ण तार फेरिएको थियो ।
केबलकार सञ्चालनमा आएसँगै अब भालेश्वर महादेवको मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्ट पनि सुचारु गरिएको कम्पनीले जनाएको छ ।

आज केबलकारको टिकटमा २५ प्रतिशतले छुट दिने कम्पनीले जनाएको छ ।

केबलकार बिहान ८ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्