जनभावना अनुसार काम गर्न प्रदेश सरकार दृढ : मुख्यमन्त्री कार्की 



उदयपुर । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको भावना र चाहना अनुसार काम गर्न प्रदेश सरकार दृढ रहेको बताउनुभएको छ ।

सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवड हलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोसी प्रदेश सरकार सकेसम्म जनभावना अनुसार काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले सीमित स्रोत साधनका बाबजुद जनताका असङ्ख्य आवश्यकता पुरा गर्नुपर्ने बाध्यता प्रदेश र स्थानीय तहमा रहेको भए पनि आफूहरू दृढताका साथ जनभावना र जनचाहनालाई सम्बोधन गर्न लागिपरेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले थोरै बजेटले धेरै काम गर्ने बाध्यताले गर्दा कोसी प्रदेशभित्र धेरै योजना अलपत्र परेकोले यसलाई अबको दिनमा सच्याउँदै अघि बढ्ने समेत बताउनुभयो ।

उहाँले दिन प्रतिदिन जनताको आवश्यकता, बाटोघाटोको माग दिनप्रतिदिन बढ्दै गएको बेला देशको अर्थतन्त्र नै शिथिल भएर राज्यमा बजेटको आकार घट्दो क्रममा रहेकोले गर्दा समयमा जनताका माग पुरा हुन नसकेको बताउनुभयो । 

मुख्यमन्त्री कार्कीले पहिला पहिला भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा होस् वा अन्य क्षेत्रमा होस राज्यले कनिका छरेजस्तो गरी बजेट विनियोजन गर्ने क्रमको अन्य गर्दै अब कोसी सरकारले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दै जनचाहना र जनभावनाको सम्बोधन हुने गरी काम गर्ने बताउनुभयो ।

कोसी प्रदेश सरकारले २०७६/०७७ सालमा ५ लाख र नगरपालिकाको १० लाख रकम विनियोजन गरेर निर्माण सुरु गरिएको सुन्दरपुर ब्याडमिन्टन कवड हलको गत वर्ष चौदण्डीगढी नगरपालिकाले ३२ लाख ८५ हजार रकम विनियोजन गरेर निर्माण सम्पन्न गरेको हो ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्