वीरगञ्जका आँखा अस्पतालमा भारतीय बिरामी आकर्षित
वीरगञ्ज । वीरगन्जका झण्डै आधा दर्जन आँखा अस्पतालहरूमा छिमेकी मुलुक भारतबाट दैनिक सयौँको सङ्ख्यामा आँखा रोगीहरू उपचारका लागि आउने गरेका छन् ।
नेपालका आँखा अस्पतालहरूमा आँखाको राम्रो उपचार हुने र सेवा पनि प्रभावकारी भएकाले भारतको बिहार, झारखण्ड, उत्तर प्रदेश र बङ्गाल राज्यबाट समेत ठुलो सङ्ख्यामा आँखाका रोगीहरू वीरगन्ज आउने गरेको नेपाल नेत्र ज्योति संघका केन्द्रिय सदस्य श्याम पोख्रेलले बताउनुभयो ।
हाल वीरगन्जको केडिया आँखा अस्पताल सहित दृष्टि आँखा अस्पताल, वीरगन्ज सामुदायिक आँखा अस्पताल, किरण आँखा अस्पताल, माट्रिका सामुदायिक आँखा अस्पताल, लगायतका आधा दर्जन भन्दा बढी आँखा अस्पतालहरू रहेका छन् । ती आँखा अस्पतालहरूमा दैनिक सयौँको सङ्ख्यामा आँखा रोगीहरू भारतबाट आउने गरेको सामुदायिक आँखा अस्पताल वीरगन्जका चिकित्सक महेश सिंह धामीले बताउनुभयो ।
वीरगन्जका आँखा अस्पतालहरूमा गुणस्तरीय र सस्तो सेवाका कारण यहाँ भारतीय आँखाका बिरामीहरू उपचारका लागि आकर्षित भइरहेको दृष्टि आँखा अस्पतालका सञ्चालक विश्वराज गौतमले बताउनुभयो ।
सामुदायिक आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ महेश सिंह धामीका अनुसार आर्थिक बर्ष ०८२/०८३ को ४ महिनाको अवधिमा सामुदायिक आँखा अस्पतालले १ हजार ६ सय ३४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको र ७ हजार ४१३ जनालाई चश्मा वितरण गरेको जानकारी दिनुभयो । उहाँले अस्पतालमा सेवा लिने सबैलाई समान शुल्कमा विभेदविहीन सेवा दिइने हुँदा यस अस्पतालमा भारतीय बिरामीहरूको चाप बढेको बताउनुभयो ।
वीरगन्जको केडिया आँखा अस्पतालमा मात्रै आँखा परीक्षण तथा उपचारका लागी भारतबाट दैनिक ३ सय देखि ४ सय जना बिरामी आउने गरेको केडिया आँखा अस्पतालका सञ्चालक सन्जय केडियाले जानकारी दिनुभयो ।
मोतियाविन्दुको शल्यक्रिया सहित आँखाका जटिल प्रकारका शल्यक्रिया समेत केडिया आँखा अस्पतालमा हुने गरेको छ ।
विशेषगरी आँखामा मासु पलाउने, नेत्र ज्योति समस्या, चश्मा प्रयोग गर्नुपर्ने लगायतका समस्या लिएर भारतबाट आँखा रोगीहरू केडिया आँखा अस्पतालमा आउने गरेका छन् ।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार
















