शिक्षाको गुणस्तर बढाउन चौरपाटी गाउँपालिकामा शैक्षिक कार्यशाला गोष्ठी
अछाम । चौरपाटी गाउँपालिकामा पालिकास्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
गाउँपालिकाको समन्वय तथा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा, मालिका विकास संघ नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत कार्यशाला गोष्ठी गरिएको हो ।
कार्यक्रमको उद्देश्य पालिकामा शिक्षाको गुणस्तर सुधार गर्न सरोकारवालासँग अन्तरक्रिया गर्दै साझा योजना तयार गर्नु रहेको मालिका विकास संघका परियोजना अधिकृत टिकाराम ढुंगानाले जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख भीमप्रसाद पनेरूले सो कार्यक्रमको सहजीकरण गरेका थिए ।
सो अवसरमा पालिकाभित्रका ८ वटा विद्यालयका प्रतिनिधि, पालिकाका विभिन्न शाखाका कर्मचारी, प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापा, वडा नं. १ का वडाध्यक्ष वीरबहादुर थापा, अन्य जनप्रतिनिधि, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी र गैरसकारी संस्थाका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति र अभिभावकहरू सक्रिय सहभागि रहेका थिए ।
यसैगरी गुड नेवर्स इन्टरनेशनल नेपालका क्लस्टर संयोजक तेजप्रसाद शर्मा र कार्यक्रम अधिकृत टेकबहादुर रावल पनि गोष्ठीमा उपस्थित थिए ।
कार्यक्रममा सबै सहभागीहरूले पालिकामा शिक्षाको गुणस्तर सुधारका लागि आआफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गोष्ठीले सामुदायिक साझेदारीमार्फत स्थानीय तहमा शैक्षिक सुधारका लागि थप ऊर्जा र पहल सृजना गर्ने विश्वास गरिएको छ । यस्तै बालकचहरी कार्यक्रम पनि सरोकारवालाहरुको उपस्थितीमा सम्पन्न गरिएको थियो ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार
















