युवा नेता साउँद एमाले केन्द्रीय सदस्यमा बलिया दावेदार, उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा युवा नेता डीबी साउँदले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा युवा कलस्टरबाट साउँदले केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
अछाम अन्नपूर्ण माविबाट २०५६-५७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै आएका साउँद लामो समयदेखि निरन्तर संगठन निर्मितिमा समर्पित व्यक्तित्व मानिन्छन् ।
विद्यार्थी जीवनदेखि नै नेतृत्व क्षमताको छाप छोड्दै आएका उनले अमृत साइन्स क्याम्पसमा करिब ६ वर्ष अनेरास्ववियुको अध्यक्ष भएर नेतृत्व गरे । ती तीन कार्यकालले उनलाई विद्यार्थी राजनीतिमा मात्रै होइन संगठनात्मक संरचनामा पनि स्थापित बनायो ।
संगठनभित्रको यात्रालाई निरन्तरता दिँदै साउँदले काठमाडौं जिल्लामा अनेरास्ववियुको नेतृत्व सम्हाले, त्यसपछि क्रमशः अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव र उपाध्यक्ष हुँदै नेकपा एमाले अछाम जिल्ला कमिटीका सचिवका रूपमा दुई कार्यकाल काम गरे ।
हाल प्रदेश कमिटीमार्फत संगठन सुदृढीकरणमा सक्रिय रहेका उनले एमालेको १०औँ महाधिवेशनदेखि नै अछामबाट महाधिवेशन प्रतिनिधिको जिम्मेवारी वहन गर्दै आएका छन् ।
सुदूरपश्चिमको राजनीतिक सामाजिक पृष्ठभूमिबाट उदाएका साउँद आफ्नो जुझारु, स्पष्टवक्ता र संगठनलाई प्राथमिकतामा राख्ने शैलीका कारण पार्टीभित्र लोकप्रिय छन् ।
युवा पुस्तामा उनी शक्तिशाली, परिपक्व तथा गतिशील नेताका रूपमा चिनिन्छन् । कार्यकर्ताहरूबीच उनको लोकप्रियता र स्वीकार्यता यति प्रबल देखिन्छ कि केन्द्रीय सदस्यमा उनको जित ‘लगभग सुनिश्चित’ मानिएको छ ।
आगामी महाधिवेशन एमालेका लागि महत्वपूर्ण मानिदैँ आएको छ । नेतृत्वका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने केपी शर्मा ओली पनि अध्यक्षमा पुनः दोहोरिने सोचमा छन् ।
प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार
















