असन्तुष्ट जेनजी समूहले आज माइतीघरमा प्रदर्शन गर्दै



काठमाडौं, पुस ७ । सरकारसँग असन्तुष्ट मिराज ढंगाना नेतृत्वको जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दैछ ।

सुशीला कार्की नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै ढंगाना समूहले सोमबार बिहान ११ बजेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको हो ।

सरकारसँग असन्तुष्टि जनाउँदै जेनजी समूहले आफूहरूले अघि सारेका माग र मुद्दा सरकारले ‘अपहरण’ गरेको दाबी गरेको छ । प्रधानमन्त्रीको १०० दिन पूरा भएकै दिन आन्दोलन घोषणा गर्नुको कारण वर्तमान सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको मर्म नबुझेको ढुंगानाको भनाइ छ ।

जेनजी आन्दोलनका प्रमुख एजेण्डामा संवैधानिक सुधारसहित राज्यको पुनःसंरचनात्मक परिवर्तन, राजनीतिक स्थिरता, निष्पक्ष न्याय, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीमाथि कडा कारबाही रहेका छन् । साथै दिगो विकास र समृद्धिका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गठनको माग पनि अघि सारिएको छ ।

आन्दोलनका क्रममा अभियन्तामाथि लगाइएका मुद्दा खारेज गर्न, पक्राउ परेका निर्दोष युवालाई तत्काल रिहा गर्न तथा आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनामा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न ढुंगानाले सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्