हेटौँडा उपमहानगरको बजेट घट्यो, आगामी आवका लागि २ अर्ब ८५ करोड प्रस्ताव



मकवानपुर, ९ असार । हेटौँडा उपमहानगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ८५ करोड पाँच लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा घटेको हो ।

मङ्गलबार बसेको उपमहानगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख राजेश बानियाँले आगामी आवको बजेट प्रस्तुत गर्दै ‘समृद्ध नगर, सुखी नगरवासी’को लक्ष्य हासिल गर्ने उद्देश्यसहित बजेट तर्जुमा गरिएको बताएका छन् ।

प्रस्तावित बजेटका लागि आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार २७० रुपैयाँ, राजस्व बाँडफाँटबाट ९९ करोड २० लाख ४८ हजार रुपैयाँ, प्रदेश सरकारबाट १० करोड एक लाख ७२ हजार रुपैयाँ र सङ्घीय सरकारबाट एक अर्ब १८ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षका लागि उपमहानगरले दुई अर्ब ९३ करोड ४९ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमा चालुतर्फ एक अर्ब ९३ करोड ५५ लाख ७५ हजार, पुँजीगततर्फ ९८ करोड ९४ लाख ११ हजार र वित्तीय व्यवस्थापनतर्फ एक करोड रुपैयाँ छुट्याइएको थियो ।

उपप्रमुख बानियाँका अनुसार गत जेठ मसान्तसम्म चालुतर्फ ६१.०७ प्रतिशत, पुँजीगततर्फ ३१.७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ७५ प्रतिशत खर्च भएको छ । समग्रमा चालु, पुँजीगत तथा वित्तीय व्यवस्थापन गरी ५१.२१ प्रतिशत खर्च प्रगति हासिल भएको छ ।

पूर्वाधार विकासलाई प्राथमिकता

आगामी आवको बजेटमा नगरस्तरीय पूर्वाधार विकासका लागि ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ र वडास्तरीय योजना तथा कार्यक्रमका लागि ४८ करोड ४० लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै आर्थिक विकासका कार्यक्रमका लागि १० करोड ३६ लाख रुपैयाँ, सामाजिक विकासतर्फ ८४ करोड १५ लाख २५ हजार रुपैयाँ, स्वास्थ्यतर्फ १२ करोड ५७ लाख रुपैयाँ, युवा तथा खेलकुदतर्फ एक करोड ४० लाख रुपैयाँ तथा विविध कोषमा चार करोड ११ लाख रुपैयाँ छुट्याइएको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४५ करोड रुपैयाँ र सुशासन तथा संस्थागत विकासका लागि दुई करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपप्रमुख बानियाँले प्रस्तावित बजेट, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि क्षमता विकास, संस्थागत सुधार तथा आवश्यक कार्यविधिगत व्यवस्थापन गर्न सकिए पारदर्शिता, उत्तरदायित्व र लोकतान्त्रिक सुशासन थप सुदृढ हुने बताएका छन् ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्