कक्षा ११–१२ छात्रवृत्तिका लागि अन्तिम मनोनयनमा ५८६ विद्यार्थी चयन
काठमाडौँ, ९ असार । काठमाडौँ महानगरपालिका ले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कार्यक्रममा अन्तिम मनोनयनका लागि ५८६ विद्यार्थी चयन गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागका अनुसार अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन प्राप्त भएको थियो । प्राप्त आवेदनमध्ये शिक्षा विषयमा दुई, मानविकीमा छ, कानुनमा २३, व्यवस्थापनमा २७३ र विज्ञानमा २८२ जना विद्यार्थी मनोनयन भएका छन् ।
शिक्षा विभाग प्रमुख नमराज ढकालले मनोनयनमा परेका विद्यार्थीहरूले असार ११ गतेभित्र तोकिएको शिक्षण संस्थामा भर्ना भइसक्नुपर्ने बताएका छन् ।
शिक्षा अधिकृत प्रल्हाद खतिवडाका अनुसार पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका तथा अन्तिम मनोनयनमा समावेश हुन चाहने परीक्षार्थीलाई असार ४ गतेदेखि ८ गतेसम्म विषय र शिक्षण संस्थाको प्राथमिकता छनोट गर्ने अवसर दिइएको थियो ।
यस वर्ष महानगरपालिकाले १४५ शिक्षण संस्थामा चार हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरेको थियो । तीमध्ये पहिलो मनोनयन सूचीबाट तीन हजार ५१ जना र दोस्रो सूचीबाट २३० जना गरी तीन हजार २८१ जना विद्यार्थी भर्ना भएपछि बाँकी एक हजार ५७६ कोटाका लागि पुनः प्राथमिकता छनोटको व्यवस्था गरिएको थियो ।
छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ सूचीबाट तीन हजार ५१ जना विद्यार्थी भर्ना भएका थिए । पहिलो मनोनयन सूचीमा तीन हजार ७३५ विद्यार्थी समावेश थिए । तीमध्ये विज्ञान विषयमा एक हजार ९०१, व्यवस्थापनमा एक हजार १११, कानुनमा ३४ र मानविकीमा पाँच जना विद्यार्थी भर्ना भएका थिए ।
भर्ना विवरण सफ्टवेयरमा प्रविष्ट भएपछि रिक्त सिटका आधारमा परीक्षा समितिले दोस्रो म्याचिङ सूचीमार्फत ४८६ जनाको नाम प्रकाशन गरेको थियो ।
महानगरपालिकाले छात्रवृत्ति छनोट परीक्षा जेठ १७ गते सञ्चालन गरेको थियो । परीक्षाको प्रारम्भिक योग्यता सूची जेठ १८ गते र अन्तिम सूची जेठ २१ गते प्रकाशित गरिएको थियो । जेठ १८ देखि २० गतेसम्म पुनर्योग तथा विवरण सच्याउने समय दिइएको थियो ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार












