कांग्रेसले संस्थागत निर्णय कार्यान्वयन गर्दै निर्वाचनको वातावरण बनाउनुपर्छ : प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रदीप पौडेलले मुलुकको विद्यमान राजनीतिक संकटको निकास निर्वाचनबाट मात्र सम्भव हुने बताउँदै त्यसका लागि पार्टीले गरिसकेको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
पार्टीभित्र प्रतिनिधि सभा पुनःस्थापनाका लागि सांसदहरूको हस्ताक्षर अभियान चलिरहेका बेला नेता पौडेलले निर्वाचनको वातावरण बनाउने कुरालाई कांग्रेसले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
उनले वर्तमान राजनीतिक गतिरोधको समाधान निर्वाचनबाटै सम्भव भएकाले कांग्रेसले सोहीअनुसार जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा राखे ।
पौडेलले पार्टीका सांसदहरूको व्यक्तिगत असन्तुष्टि वा धारणा भन्दा पनि संस्थागत निर्णय नै सर्वोपरि हुने स्पष्ट पारे । उनले भने, ‘हामी चुनावमै लाग्नुपर्छ। देशलाई चुनावतर्फ लैजाने, निष्पक्ष र स्वच्छ ढंगबाट निर्वाचन गराउने वातावरण बनाउने काममा हाम्रो सहयोगी भूमिका हुनुपर्छ । पार्टीले संस्थागत रूपमा निर्णय गरिसकेको विषयलाई कसैले ‘क्रस’ गर्न पाउँदैन ।’
सांसदहरूको कार्यकाल नपुगेको भन्दै अदालतमा हस्ताक्षर बुझाउने विषयलाई उनले नितान्त व्यक्तिगत विषयको संज्ञा दिए । पार्टीले सर्वसम्मत रूपमा निर्वाचनमा जाने निर्णय गरिसकेको अवस्थामा त्यस विपरीत जाने अधिकार कसैलाई नरहेको उनको तर्क थियो ।
नेता पौडेलले निर्वाचनमा जानुअघि पार्टीको महाधिवेशन सम्पन्न गर्नु अनिवार्य रहेको पनि बताए । महाधिवेशन नगरी निर्वाचनमा जाँदा कांग्रेसले ठुलो क्षति व्यहोर्न सक्ने चेतावनी दिँदै उनले एमाले लगायत अन्य दलले अधिवेशन सम्पन्न गरिसकेको अवस्थामा कांग्रेसले पनि आफूलाई अद्यावधिक गरेर मात्र निर्वाचनमा जानुपर्ने बताए ।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार
















