चौरपाटीका दुई विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला
अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिका अन्तर्गत दुई विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला कार्यक्रम भएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मालिका विकास संघ नेपालमार्फत सञ्चालनमा रहेको एकीकृत सामुदायिक विकास परियोजनाको सहजीकरण र चौरपाटी गाउँपालिकाको समन्वयमा वडा नं. १ स्थित शिरोमणि लेखनाथ माध्यमिक विद्यालय र वडा नं. २ को दशपल्लेपानी माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
विद्यार्थीहरूको व्यवहारिक सिकाइ, ज्ञान, सीप र क्षमता विकास गर्ने उद्देश्यले आयोजित मेलामा विद्यार्थीहरूले तयार पारेका विभिन्न शैक्षिक सामग्री, विज्ञान तथा प्रविधिसँग सम्बन्धित मोडलहरू, स्थानीय संस्कृति र पहिचान झल्काउने सामग्री, सामाजिक विषयसँग सम्बन्धित प्रस्तुतिहरू तथा पुस्तकहरूको प्रदर्शनी गरिएको मालिका विकास संघका परियोजना अधिकृत टिकाराम ढुंगानाले जानकारी दिए ।
कार्यक्रममा अभिभावकहरूले बनाएका स्थानीय सामग्रीहरू समेत प्रदर्शनीमा राखिएको थियो । दुबै विद्यालयले उत्कृष्ट अभिभावकहरूलाई सम्मान गर्दै विद्यालय–समुदाय सहकार्यलाई थप सुदृढ बनाउने प्रयास गरेका थिए ।
विद्यार्थीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले मेलाका अवसरमा विभिन्न प्रतियोगिताहरू पनि सञ्चालन गरिएका थिए । नियमित रूपमा विद्यालय आउने उत्कृष्ट विद्यार्थी, उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्ने विद्यार्थी तथा उत्कृष्ट सामग्री प्रदर्शनी गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
साथै चित्रकला, म्याथ रेस र स्पुन रेसजस्ता प्रतियोगिताहरू आयोजना गरि विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता बढाउनुका साथै विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार
















