अत्यधिक जाडो बढेपछि दुई स्थानीय तहका विद्यालयमा बिदा



सप्तरी, पुस १४ । शीतलहरूसँगै अत्यधिक जाडो बढेपछि सप्तरीका दुई वटा स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।

जिल्लाको राजगढ गाउँपालिकाले अत्यधिक रूपमा बढेको चिसो तथा शीतलहरका कारण बालबालिकाको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै बर्से र हिउँदे बिदामा मिलान हुने गरी आइतबारदेखि यही १८ गतेसम्म विद्यालय बन्द गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलले बताए ।

यस्तै, डाक्नेश्वरी नगरपालिकाले समेत प्रशासनिक कार्यबाहेक नियमित पठनपाठनको कार्य बन्द रहने गरी विद्यालयमा बिदा दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले आज एक सूचना जारी गर्दै सोमबारदेखि लागू हुने गरी पाँच दिन बिदा दिइएको जानकारी दिए । नगरपालिकाअन्तर्गतका सबै निजी तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

केही दिनयता बढेको अत्यधिक जाडोका कारण सप्तरीसहित तराई मधेसको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्