किन राेकियो विश्वको एक सेकेण्ड समय ?


 


time

बीबीसी, असार १६

मंगलबार अर्थात् जुन महिनाको मध्यरातमा विश्व एक सेकेण्ड रोकियो । सधै ६० सेकेण्डको एक मिनेट हुन्छ तर जुन महिनाको अन्तिम दिनको अन्तिम समयको एक मिनेट ६१ सेकेण्डको भयो ।

हो, वैज्ञानिकहरुले पछिल्लो ३ वर्षमा विश्वको आधिकारिक समयमा मंगलबार पहिलोपटक एक सेकेण्ड थप गरेका छन् । अन्तराष्ट्रिय स्टाण्डर्ड समय देखाउने पारमाणिविक घडीमा वैज्ञानिकहरुले एक सेकेण्ड थप गरेका हुन् । यसलाई अधिक सेकेण्ड अर्थात् लिप सेकेण्ड भनिन्छ ।

यो वर्ष ३ सय ६६ दिनको अर्थात् अधिक वर्ष हो । पृथ्वीको गति तथा यसको ऋतुहरुसँग घडीको सामान्जस्यता मिलाउनका लागि यसरी समय समयमा अधिक सेकेण्ड तथा अधिक वर्ष थप गर्ने गरिन्छ ।

पृथ्वीको गतिसँग सामान्जस्यता मिलाउनका लागि एक सेकेण्ड समय नै थप गर्दा कम्प्युटर प्रणालीमा भने समस्या उत्पन्न हुनसक्छ, किनकी त्यसरी बढेको समय कम्प्युटरमा स्वचालित रुपमा बढ्दैन र मानिसले नै बढाउनुपर्छ ।

यसरी विश्वको आधिकारिक समयमा अधिक समय थप गर्ने नगर्ने विषयमा वैज्ञानिकहरुनै विभाजित हुँदै आएका छन् । यो वर्षको अन्त्यतिर हुने एक अन्तराष्ट्रिय बैठकमा यसबारेमा छलफल हुने बताइएको छ ।

यसरी रोकियो समय
जुन महिनाको ३० तारेख मध्यरात ११ बजेर ५९ मिनेट ५९ सेकेण्डपछि जुलाई महिना लाग्नु अर्थात् रातको बाह्र बज्नुअगाडि १ सेकेण्ड थप भयो । अर्थात् २३:५९:५९ बजेपछि ००:००:०० अर्थात् ठ्याक्क रातको बाह्र बज्नुपर्नेमा १ सेकेण्ड थप गरियो र २३:५९:६० बज्यो । अनिमात्र ००:००:०० बजाइयो ।

यस्तो अधिक समय कहिले कहिले हुन्छ भन्ने विषय अनिश्चित हुने वैज्ञानिकहरु बताउँछन् । बेलायतको राष्ट्रिय भौतिक विज्ञान प्रयोगशाला एनपिएलका वरिष्ठ शोध वैज्ञानिक पिटर हि्वर्लीका अनुसार यस्तो अधिक समय पृथ्वीको परिक्रमाको मापनमा आधारित हुन्छ र पृथ्वीको यस्तो परिक्रमण अनिश्चित रुपमा परिवर्तन हुने हुँदा अधिक सेकेण्ड अनियमित समयको अन्तरालमा भइदिन्छ ।

यसरी विश्वको समयलाई पूरै एक सेकेण्ड रोक्दा अर्थात् वास्तविक समयलाई एक सेकेण्ड बढाउँदा विश्वभरका कम्प्युटर सफ्टवेयरमा समस्या उत्पन्न हुनसक्ने तथा यसले वित्तिय कारोबार लगायतका कार्यहरुमा असर पूराउन सक्ने हुँदा यस्तो अधिक समयको बारेमा योजनाबद्ध हिसाबले अघि बढ्नुपर्ने उनले बताएका छन् ।

‘लिप सेकेण्डको बारेमा केवल त्यसको ६ महिनाअघि मात्र घोषणा गरिन्छ । त्यसको मतलब लिप सेकेण्ड समेत थप गरेर प्रोग्रामिङ गरिएको कम्प्युटर तथा सफ्टवेयरको आपूर्ति यो छोटो समयमा गर्न असम्भव हुन्छ, जसका कारण हातैले कम्प्युटरमा समय मिलान गर्नुपर्ने हुन्छ’, पिटर भन्छन्, ‘यस्तो अधिक सेकेण्डलाई गलत तरिकाले मिलान गरियो भने त्यसले पूर्वनिर्धारित समयमा आधारित संचार संजालबीचको तादात्म्यता भंग गर्नुका साथै वित्तिय प्रणाली र अन्य विभिन्न एप्लिकेसनको कार्यमै गम्भीर असर पूराउँछ ।’

यस्तो लिप सेकेण्डले एसिया प्रशान्त क्षेत्रको कम्प्युटर प्रणालीमा सबैभन्दा धेरै प्रभाव पार्ने उनी बताउँछन् । यो क्षेत्रमा दिउसोको कार्यालय समयमै त्यस्तो अधिक सेकेण्ड पर्ने भएकाले कम्प्युटर प्रणालीमा असर पुग्ने उनको भनाइ छ ।

अधिक सेकेण्ड थप गर्ने विषयमा कुनै नियमितता नभएको र जुनसुकै समयमा पनि यस्तो समय थप गरिने हुँदा त्यसले कम्प्युटर प्रणालीमै असर पूराउने गरेको भन्दै यस्तो समय थप गर्ने प्रचलनलाई हटाउनुपर्ने माग पनि हुन थालेको छ । त्यसैले अन्तराष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आइटियु) ले आगामी नोभेम्बरमा जेनेभामा हुने विश्व रेडियो कम्युनिकेसन सम्मेलनमा यस विषयमा छलफल गर्ने भएको छ ।

उक्त सम्मेलनमा सहभागीहरुले लिप सेकेण्डलाई हटाउने वा यस्तो थप गर्दा हुने समस्यालाई कम गर्ने प्राविधिक समाधानको उपाय खोजी गर्ने विषयमा निष्कर्षमा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: १६ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्