नेपालमै सुरु भयो निःशुल्क मिर्गौला प्रत्यारोपण


 


काठमाडौँ, वैशाख ४

सरकारले घोषणा गरेको निःशुल्क मिर्गौला प्रत्यारोपण कार्यक्रम आइतबार भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट सुरु भएको छ ।  मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आइतबार मात्रै केन्द्रमा दुई जनाको मिर्गौला निःशुल्क प्रत्यारोपण भएको जानकारी दिनुभयो ।

डा. श्रेष्ठले आइतबार निःशुल्क मिर्गौला प्रत्यारोपण भएका बिरामी क्रमशः पोखराका ३० वर्षीय दीपक गुरुङ र काठमाडौँ नाङ्लेभारेकी २६ वर्षीया लक्ष्मी ढकाल रहेको जानकारी दिनुभयो ।  गुरुङलाई उहाँकी ६० वर्षकी आमा सुनमाया गुरुङले मिर्गौला दिनुभएको हो भने ढकाललाई पनि उहाँकी आमा ४८ वर्षीया चण्डिका ढकालले मिर्गौला दान गर्नुभएको हो ।

कार्यकारी निर्देशक डा. श्रेष्ठले निःशुल्क मिर्गौला प्रत्यारोपणको लागि पाँच लाख रुपियाँ र अन्य औषधिसमेत बचत हुने जानकारी दिनुभयो ।  मन्त्रालयले पठाएको बजेटबाट खर्च हुने गरी मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिँदै उहाँले प्रक्रिया मिलाएर आएका बिरामीको लागि अब केन्द्रमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुने स्पष्ट गर्नुभयो ।  चालु आर्थिक वर्षका लागि मिर्गौला प्रत्यारोपण गर्न सरकारले एक करोड ५० लाख रुपियाँ छुट्याएको छ ।

गुरुङले दुई वर्षअघि भारतमा प्रत्यारोपण गर्नु भएकोमा मिर्गौला फेल भएको थियो भने ढकालले दुई वर्षदेखि मिर्गौला डायलासिस गराउँदै आउनुभएको थियो ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले मानव अङ्ग प्रत्यारोपण केन्द्रसहित वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जबाट पनि निःशुल्क मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको जानकारी दिनुभयो ।  उहाँले अब मिर्गौला प्रत्यारोपणका लागि कुनै खर्च पनि नलाग्ने जानकारी दिँदै मिर्गौला रोगीहरूका लागि निःशुल्क प्रत्यारोपण ठूलो सफलता भएको बताउनुभयो ।

डा. श्रेष्ठका अनुसार प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएको दिनदेखि शल्यक्रिया गरेर सात दिनसम्मको औषधि सरकारले व्यवस्था गर्नेछ । नेपालमा मिर्गौला प्रत्यारोपण नहुँदा केही वर्षअघिसम्म नेपालीहरू भारत, थाइल्यान्ड, सिङ्गापुर, जापानजस्ता देशमा गएर लाखौँ खर्चेर मिर्गौला प्रत्यारोपण गर्ने गर्दथे ।

प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्