हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभासम्पन्न, ८ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभाले ८ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८२ पुष २१ गतेका लागि बन्द गरिएको थियो । २०८२ पुष २० गतेसम्म कायम शेयरधनी साधारणसभामा उपस्थित भएका थिए ।
उक्त साधारणसभाबाट आ व २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन पारित गर्नुका साथै सोही आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने रकम २० कराेड १२ हजार ५९२ रूपैयाँ बराबरको नगद लाभांश (कर समेत) समेत पारित गरेको छ ।
साथै, आ व २०८२/०८३ को लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक समेत साधारण सभाबाट पारित भएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले प्रविधि र दक्ष जनशक्तिमा गरिएको निरन्तर लगानीले कम्पनीलाई दीर्घकालीन रूपमा सुदृढ र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे ।
उनले स्रोतहरूको प्रभावकारी व्यवस्थापन तथा सबै सरोकारवालाहरूको भरोसा र सहकार्यका माध्यमबाट कम्पनीलाई थप सक्षम बनाउँदै लाने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरि कम्पनीको ३२ औं साधारण सभामा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न चुनौतीका बावजुद दीर्घकालीन स्थायित्व र सञ्चालन सुधारमा केन्द्रित रणनीतिका कारण कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको बताए ।
साथै, उनले कम्पनीको वित्तीय सुदृढता, जोखिम व्यवस्थापन र ग्राहकप्रतिको प्रतिबद्धताले भविष्यमा पनि दिगो मूल्य सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल व्यङ्क्वेट शंखमुल काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।
प्रकाशित मिति: ७ माघ २०८२, बुधबार
















