गोली चलाएर दिनदहाडै सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
काठमाडौं, माघ २२ । काठमाडौंको बौद्ध क्षेत्रमा सुनका गरगहना चोरी गर्ने एक जनालाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–६ महांकालबाट गएराति गोली चलाएर विकास भन्ने प्रेम थारूलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।
पक्राउको क्रममा प्रहरीसँग झडप भएपछि गोली चलाइएको एसएसपी थापाले जानकारी दिए । थारूको खुट्टामा गोली लागेको छ । थारूमाथि ६५ तोला सुनका गरगहना चोरी गरेको आरोप छ।
मंगलबार मात्रै काठमाडौंको बौद्धस्थित कुमारीगालमा रहेको एक घरबाट मध्याह्न १२ बजेतिर ४२ तोला सुनचाँदीका गहना चोरी भएको थियो । उक्त घटनामा थारूकै संलग्नता रहेको भनिएको छ।
पाँचतले घरका मानिसहरू छतमा बसिरहेको बेलामा चौथो तलामा चोरी भएको थियो । चोरी भएको कोठाको ढोकाको कब्जा फुटाइएको अवस्थामा फेला परेको थियो ।
पक्राउ परेका आरोपीबारे थप अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार












