बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो
काठमाडौँ, माघ २३ । बैतडीको पुर्चौंडी नगरपालिकामा भएको जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको हो भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा थप पाँच जनाले बाटोमै ज्यान गुमाएका हुन् ।
दुर्घटनामा घाइते भएका ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।
बिहीबार राति करिब ८ बजे पुर्चौंडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको हो ।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार












