भेरी अस्पतालमा हिस्टोप्याथोलोजी सेवा विस्तार
नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा हिस्टोप्याथोलोजी सेवा विस्तार गरिएको छ ।
शरीरको कुनै भागबाट सानो मासु (स्पेसिमेन) निकालेर माइक्रोस्कोपको माध्यमबाट रोग छ कि छैन भनेर जाँच गर्ने प्रक्रियालाई हिस्टोप्याथोलोजी भनिन्छ । यसबाट क्यान्सर वा अन्य रोगहरूको पहिचान गर्न सकिने भेरी अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा.शर्मिला गुप्ताले जानकारी दिनुभयो ।
डा.गुप्ताका अनुसार टी.बी., अटो–इम्युन, मिर्गौला, पेट, कलेजोलगायतका दीर्घकालीन रोगहरूको प्रकार पहिचान गर्न हिस्टोप्याथोलोजीले महत्त्वपूर्ण सहयोग पुर्याउँछ ।
त्यस्तै, शरीरबाट निकालिएका अङ्गहरू जस्तै एपेन्डिस, पित्तथैली, प्रोस्टेट आदि रोगग्रस्त छन् कि छैनन् भन्ने कुराको पनि पत्ता लगाउन सकिन्छ । “शरीरमा रोग छ कि छैन भनेर ठ्याक्कै थाहा पाउन हिस्टोप्याथोलोजीले मद्दत गर्छ । यसबाट क्यान्सर जस्ता गम्भीर रोग पत्ता लगाउन, रोगको प्रकार र अवस्था बुझ्न, रोग कति फैलिएको छ भन्ने थाहा पाउन र उचित उपचार गर्न सहज हुन्छ ।” उहाँले भन्नुभयो ।
हिस्टोप्याथोलोजी सेवा सुरु भएसँगै प्याथोलोजी विभागले पूर्णता प्राप्त गरेको अनुभव भएको डा.गुप्ताले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– “सेवा सुरु हुनु अघि विभाग अपूर्ण जस्तो लाग्थ्यो । अब, रोगको पहिचान र निदानमा यो सेवा कोशेढुंगा साबित भएको छ ।”
कन्सल्टेन्ट प्याथोलोजिष्ट डा.सुरेशमान श्रेष्ठका अनुसार भेरी अस्पतालमा हिस्टोप्याथोलोजीका आधारभूत सेवाहरू सञ्चालन भएका छन् । आगामी दिनमा स्तरीय स्टेनिङ र इम्युनोहिस्टोकेमिस्ट्री जस्ता सेवा थपिने छन् । उहाँले विभागमा दक्ष जनशक्ति आवश्यक हुने पनि बताउनुभयो । भेरी अस्पतालका ल्याब इन्चार्ज कृष्णदत्त हरिजनका अनुसार अत्यन्त मेहनतका बाबजुद हिस्टोप्याथोलोजी सेवा सम्भव भएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुबेदीले ढिलै भए पनि सेवा सुरु गर्न सफल बताउँदै यसले रोग निदानमा महत्त्वपूर्ण उपलब्धि दिने उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार
















