बिहे भोज खाएका बेहुला–बेहुलीसहित १०० जना बढी बिरामी



खोटाङ । खोटाङको जन्तेढुंगामा बिहेको भोज खाएकाहरू बिरामी परेका छन् ।

जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका बेहुला बेहुलीसहित एक सय जना भन्दा बढी बिरामी परेका हुन् । भोज खाएपछि ‘फुडपोइजन’ भएको आशंका छ ।

बिरामी परेका स्थानीयको दिप्लुङकै निगालावास भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचारको प्रबन्ध मिलाइएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए ।

माघ २१ गते विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको छ ।

बिरामीको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोली खटिएका छन् ।

‘फुडपोइजन’को कारण पत्ता लगाउनका लागि प्रदेशबाट ‘स्याम्पल’ संकलन गर्न टोली मगाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बताए ।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्