मेघालय कोइलाखानी विस्फोट : खोटाङका तीन युवकको मृत्यु, एक जना बेपत्ता
खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा खोटाङका तीन युवकबमे मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । विस्फोटमा दुई जना गम्भीर घाइते भएका छन् ।
मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा यही माघ २२ गते विस्फोट हुँदा यहाँको बरापोखरी गाउँपालिका–१ बरापोखरी सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो ।
कामदार कोइलाखानीभित्र काम गर्दैगर्दा भएको विष्फोटमा हलेसी तुवाचुङ नगरपालिका– ५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता भएको बताइएको छ ।
विस्फोटपछि बेपत्ता भएका राईको कोइलाखानीभित्रै जलेर ज्यान गएको हुन सक्ने जनाइएको छ । कोइलाखानीभित्र भेटिएका शव आगोले डढेर नचिनिने अवस्थामा भेटिएको जानकारी आएको छ । यसबारेमा परिवारलाई जानकारी गराइएको छ ।
विष्फोटमा गम्भीर घाइते भएका नरबहादुरको उपचारको क्रममा यही माघ २३ गते मृत्यु भएको जानकारी प्राप्त भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए ।
घटना भएकै दिन ज्यान गुमाएका पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ भएको स्थानीयवासी इन्द्र लिमेल मगरले जानकारी दिए ।
विस्फोटमा परेका बरापोखरी गाउँपालिका–१ सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते छन् ।
उनीहरुको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरुको उपचारका लागि सहयोग सङ्कलन तथा शव स्वदेश ल्याउन अभियान सुरु गरिएको छ ।
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार












