रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, बसमा कति यात्रु थिए भन्ने अझै खुलेन



बनेपा । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको पुष्टि गरेका हुन् ।

बस खसेको स्थानमा खोजी गर्दा ६ वटा शव फेला परेसँगै मृतकको संख्या १२ पुगेको हो ।

दुर्घटना भएलगत्तै उपचारका लागि अस्पताल पुर्याइएका ६ जनाको उपचारका क्रममा निधन भएको थियो ।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ । केही घाइतेलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ ।

आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बाटोबाट अन्य थप यात्रु कति चढेका थिए भन्ने अझै खुलेको छैन ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ । सडकबाट खसेको बस नदीमा डुबेको थियो । अहिले बसलाई बाहिर निकालिएको छ ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्