जबरजस्ती करणी अभियोगमा इन्स्पेक्टर पक्राउ
चितवन । जबरजस्ती करणीको आरोपमा एक प्रहरी अधिकृतविरुद्ध जाहेरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् ।
उनले निवेदनमा आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक–पटक यौन शोषण गरेको आरोप लगाएकी छिन् ।
गत असोज १ गते कार्यालयमा समस्या लिएर गएकी ती महिलालाई न्याय दिलाइदिन्छु भन्दै क्याफेमा कफी खान बोलाएर जबरजस्ती पटक-पटक यौन शोषण गरेको उनीमाथि आरोप छ ।
त्यसबेला जाहेरी गर्न प्रहरीकहाँ जान खोज्दा प्रहरी निरीक्षक महतले कुरा गर्ने नाममा बोलाएर उल्टै इलाका प्रहरी कार्यालय खैरहनीको कार्यकक्षमै जबरजस्ती करणी गरी कुटपिटसमेत गरेको ती महिलाको आरोप छ ।
साथै जाहेरीपछि आफूलाई महतका आफन्तहरुबाट धम्की आइरहेको पनि उनले बताएकी छिन् ।
जाहेरीपछि इन्स्पेक्टर महत हाल हिरासतमा रहेको चितवन प्रहरी स्रोतले बताएको छ ।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार
















