शुल्क अविलम्ब फिर्ता गर्न माग


 


काठमाडौँ, वैशाख १५

संयुक्त विद्यार्थी सङ्गठनले निजी शैक्षिक संस्थासँग मापदण्डभन्दा बढी लिइएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ ।

यहाँ आज बसेको बैठकले निजी विद्यालय सञ्चालकले शुल्क फिर्ता नगर्दासम्म उनीहरुलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

बैठकले माग पूरा गर्न दबाब दिने उद्देश्यले र शिक्षा विभाग तथा देशभरका जिल्ला शिक्षा कार्यालयमा विरोध प्रदर्शन गर्ने, शुल्क लिने विद्यालय सञ्चालकलगायतलाई बहिष्कार गर्नेलगायत निर्णय पनि गरेको छ ।

केही विद्यालय सञ्चालकले सरकारले निर्दिष्ट गरेको मापदण्डभन्दा फरक तरिकाले नियमित विद्यार्थीलाई भर्ना, लेखन सामग्री, परीक्षा, खेलकुद, प्रयोगशाला तथा विविध शीर्षकमा बढी शुल्क लिँदै आएकामा विद्यार्थी सङ्गठनले विरोध गर्दै आएका छन् ।

संयुक्त विद्यार्थी सङ्गठनमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविसंलगायत आठ सङ्गठन आबद्ध छन् ।

प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्