नेप्सेका सबै सूचक बढे‚ कारोबार रकम घट्यो
काठमाडौं। मंगलबार नेप्से २१.६२ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.८२ प्रतिशतले बढ्दै २६३८.६० विन्दुमा अडिएको हो।
नेप्से बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। नेप्सेमा मंगलबार ३२८ कम्पनीको ४९ हजार ९३ पटकको कारोबारमा ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच भए।
जसमा चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ रुपैयाँबराबरको कारोबार भयो। नेप्सेमा आइतबार ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँबराबरको कारोबार भएको थियो ।
१३ समूहको कारोबार भएकामा सबै समूहमा हरियाली छायो। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.३०‚ विकास बैंक १.११‚ फाइनान्स समूहको सूचक ०.६४‚ होटेल तथा पर्यटन २.०२‚ जलविद्युत् समूहको सूचक १.२७ प्रतिशतले बढ्यो।
यस्तै लगानी ०.६१‚ जीवन बिमा ०.७०‚ उत्पादन तथा प्रशोधन १.७६‚ लघुवित्त समूह ०.७९‚ म्युचुअल फन्ड ०.०९‚ निर्जीवन बिमा ०.५२‚ अन्य ०.३३ र व्यापार समूहको सूचक १.४९ प्रतिशतले उकालो लाग्यो।
नेप्सेमा मंगलबार २१३ कम्पनीको सेयर मूल्य बढ्यो। ४२ कम्पनीको सेयरमूल्य घट्दा ६ कम्पनीको भने स्थिर रह्यो।
दिनभर उतारचढाव भइरहेको नेप्सेमा मंगलबार पनि सबैभन्दा बढी साल्पा विकास बैंक लिमिटेडका लगानीकर्ताले कमाए।
यसैगरी एसबीआई बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ३.५८ प्रतिशतले सेयरमूल्य गुमाए।
मंगलबार सबैभन्दा धेरै कारोबार हुनेमा एसवाई प्यानल नेपाल लिमिटेड रह्यो। एसवाई प्यानलको आज ३७ करोड ७२ लाख ९१ हजार ३२० रुपैयाँको कारोबार भयो। एसवाई प्यानलको अन्तिम सेयर मूल्य प्रतिकित्ता १८७१ रुपैयाँ कायम रह्यो।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार
















