दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतले तत्काल रिहा गर्न अस्वीकार गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै विभिन्न किसिमका आन्दोलन गर्दै आएका प्रसाईँलाई केही दिनअघि मात्रै प्रहरीले पक्राउ गरेको थियो । भक्तपुरस्थित निवासबाटै प्रहरीले प्रसाईँलाई पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।सार्वजनिक शान्ति विरुद्ध विभिन्न किसिमका आन्दोलन गर्दै आएका प्रसाईँलाई फागुन १७ गते प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो।
गत आइतबार मात्रै व्यवसायी प्रसाईँलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । त्यसको विरुद्ध प्रसाईँ बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । ।
यसअघि प्रहरीले प्रसाईँमाथि निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको भन्दै ४ फागुनमा पनि पक्राउ गरेको थियो ।
तर उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो । प्रसाईं आदेश १३ फागुनमा रिहा भएका थिए ।
त्यसको ३ दिनपछि सार्वजनिक शान्तिमा खलल पुराएको आरोपमा पुनः पक्राउ परेका हुन् ।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार
















