सिंहदरबार र सर्वाेच्चसहितका संरचना जलाउने ४६ जनाविरुद्ध मुद्दा दर्ता



काठमाडौँ, फागुन २० । जेनजी आन्दोलनका क्रममा सिंहदरबार तथा सर्वोच्च अदालतसहित विभिन्न सार्वजनिक संस्थाहरूमा आक्रमण गर्ने अभियोग लागेका ३६ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता भएको छ ।

कान्तिपुर पब्लिकेशन्स, चन्द्रागिरि हिल्स र गैरआवासीय नेपाली उपेन्द्र महतोको निजी सम्पत्तिमाथि आक्रमण र तोडफोड गर्ने अभियोग लागेका थप १० जनाविरुद्ध पनि मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर भदौ २३ गते १९ जनाको ज्यान गएपछि भदौ २४ देशका विभिन्न भागमा आन्दोलनहरू भएका थिए । त्यसक्रममा सिंहदरबार, सर्वोच्च अदालत, व्यवस्थापिका संसद् र राष्ट्रपतिको कार्यालय लगायत विभिन्न सार्वजनिक संस्थालगायत देशैभरिका प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनीका घटनाहरू भएका थिए ।

भदौ २३ र २४ गते देशमा ठूलो भौतिक र मानवीय क्षति पुगेको थियो । सर्वोच्च अदालतलगायत तोडफोड भएका कतिपय संस्थाहरूले घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले त्यसमाथि अनुसन्धान गरी मुद्दा अभियोजनका लागि काठमाण्डू जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पठाएको थियो ।

काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार मंगलवार घटनामा संलग्न भएको अभियोग लागेकाहरूविरुद्ध मुख्यतस् आपराधिक उपद्रवसम्बन्धी र एकाध डाकासम्बन्धी कसुर तथा हातहतियार खरखजाना मुद्दाहरू दर्ता भएका छन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले बताए ।

सर्वोच्च अदालत जलाएको अभियोगमा सुनील श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर भएको छ । श्रेष्ठ, थापा, मगर, पराजुलीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा आगजनी गरेर एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँमा बराबरको क्षति पु¥याएको अभियोग पत्रमा उल्लेख छ ।

सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न आशीष गुरुङविरुद्ध आपराधिक उपद्रो र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।

सर्वोच्च अदालतले भदौ २४ गतेको घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको थियो ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्