दिङ्ला बजारमा पैसा बाँडेको हल्ला असत्य : प्रहरी
भोजपुरको दिङ्ला बजारमा पैसा बाडेको हल्ला असत्य रहको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
एमालेको सम्पर्क कार्यालयमा भोलि हुने निर्वाचनका लागि सरसल्लाह गर्न बसेका एमाले नेताकार्यकर्ताहरुलाई नेकपाका केही कार्यकर्ताले पैसा बाडेको हल्ला फिजाएका थिए ।
यो सामान्य घटना रहेछ, अन्य दलका कार्यकर्ताले होहल्ला गरेको पाइयो भोजपुर प्रहरी प्रमुख डिएसपी राजु लामाले भने ।
डीएसपी लामाले घटनाको सत्यतथ्यबारे जानकारी दिँदै बाहिर चर्चा भएजस्तो पैसा फेला नपरेको स्पष्ट पारेका छन् । ‘यो आरोप लगाएको मात्रै हो, प्रहरी पुगेर खानतलासी गर्दा केही भेटिएन । भोलिको रणनीति र कर्मचारी व्यवस्थापनको विषयमा १०–११ जना बसेका रहेछन्,’ उनले भने ।
स्रोतका अनुसार नेकपाका नेता राजेन्द्र राईको निर्देशनमा उनका कार्यकर्ताहरुले फेसबुकमा लाइभ र होहल्ला मात्र गरेका हुन् । यता एमाले भोजपुरका अध्यक्ष मक्कर खड्काले विपक्षीहरुमा हारको मनस्थितिले होहल्ला गर्ने प्रयास गरेको बताएका छन् ।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार
















