४६.७८ अंकले घटेको नेप्सेमा १३ अर्बको कारोबार



काठमाडौं। नेप्से ४६.७८ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.६४ प्रतिशतले घटेको नेप्से २७९६.५७ अंकमा रोकिएको हो।

सेयर बजारमा बुधबार ३२९ कम्पनीको एक लाख १५ हजार ५५० पटकको कारोबारमा तीन करोड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर किनबेच भए। जसअनुसार १३ अर्ब १८ करोड दुई लाख ५५ हजार १५७ रुपैयाँको कारोबार भयो। हिजो ९मंगलबार० भने २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० रुपैयाँको कारोबार भएको थियो।

आज २२५ कम्पनीको सेयर मूल्य घटेको छ। ३४ कम्पनीको मात्र सेयर मूल्य बढ्दा तीन कम्पनीका सेयर मूल्य स्थिर रहे। नेप्सेमा बुधबार १३ समूहको कारोबार भएकामा म्युचुअल फन्ड समूहको उपसूचक मात्र बढ्दा बाँकी १२ समूहका उपसूचक राताम्मे बने।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक १.८२‚ विकास बैंक १.६१‚ फाइनान्स २.०८‚ होटेल तथा पर्यटन‚ १.५६‚ जलविद्युत् ०.७१‚ लगानी १.८७‚ जीवन बिमा १.९८‚ उत्पादन तथा प्रशोधन समूह १.४३ तथा लघुवित्त समूह १.६४ प्रतिशतले ओरालो लाग्यो। तर म्युचुअल फन्ड समूह भने ०.३४ प्रतिशतले बढ्यो।

यसैगरी निर्जीवन बिमा ०.९७‚ अन्य १.८३ र व्यापार समूहको सूचक ३.४० प्रतिशतले ओरालो लाग्यो।

साल्पा विकास बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अर्थात् साल्पाका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे। यस्तै कालिका पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ८.४७ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनी लिमिटेडको ८५ करोड ९४ लाख ५० हजार ३९४ रुपैयाँबराबरको कारोबार भएको छ।

जसको २४ लाख ३७ हजार ३३० कित्ता सेयर किनबेच भयो। अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३५१ रुपैयाँ कायम रह्यो।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्