दीर्घकालीन सोचका साथ अघि बढ्नेछु : मन्त्री पोखरेल
काठमाडौँ १३ चैत । नव नियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्रमा राजनीतिकरण अन्त्य गरी दीर्घकालीन सोचका साथ आफू अगाडि बढ्ने बताउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीको पद तथा गोपनीयताको सपथ लिएपछि सिंहदरबार स्थित मन्त्रालयमा पदभार ग्रहण गर्दा मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।
पदभारपछि कुरा गर्दै मन्त्री पोखरेलले पार्टीको निर्वाचन घोषणापत्रमा उल्लेख भएका १०० वटा प्रतिबद्धता पूरा गर्ने लक्ष्य रहेको बताउँदै सानै उमेरदेखि विद्यार्थीलाई एआई, आइटी, स्वास्थ्य र खेलकुदसँग जोड्ने गरी पाठ्यक्रममा एकीकरण गर्ने योजना रहेको जानकारी गराउनुभयो ।
खेलकुद क्षेत्रको सुधारबारे मन्त्री पोखरेलले सानै उमेरदेखि व्यवस्थित प्रशिक्षण र पोषण उपलब्ध गराउन सके दीर्घकालीन रूपमा गुणस्तरीय खेलाडी उत्पादन गर्न सकिने धारणा राख्नुभयो ।
नेपालको खेलकुद क्षेत्र राजनीतिकरणले नै बिग्रेको भन्दै मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद परिषद्, एन्फा लगायत सबै निकायहरूमा विज्ञता र अनुभव भएका व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार
















