ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षक लामाको उपचारका क्रममा निधन



काठमाडौं । ड्युटीकै क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको मंगलबार निधन भएको छ ।

आइतबार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा मंगलबार बिहान ललितपुरस्थित बीएन्डबी अस्पतालमा निधन भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत लामा आइतबार ड्युटी सकेर घर फर्किँदै गर्दा काठमाडौंको तारकेश्वर नगरपालिका–८, डाँडागाउँ ट्रकले ठक्कर दिएको थियो ।

लामा सवार बा.प्रा ०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बा.प्रा. ०३–००१ ख १७१५ को ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उक्त घटनापछि ट्रक चालक मकवानपुरका ३८ वर्षीय आइतराम मोक्तान पक्राउ परिसकेका छन् ।

मृतक लामा ०७२ सालमा प्रहरी जवानमा भर्ना भएका थिए । त्यसपछि उनले सहायक निरीक्षकमा नाम निकाले। मिहिनेती लामाले त्यसलगत्तै खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकको फुली लगाउन सफल भएका थिए ।

लामा रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ निवासी हुन् । उनको निधनपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली दिएको छ।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्