संयुक्त राष्ट्र संघमा अन्तर्राष्ट्रिय आरोग्य दिवसको उच्चस्तरीय कार्यक्रम, आरोग्यको नेतृत्वमा नेपालको जोड




काठमाडौँ ५ वैशाख । पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा अप्रिल १७ मा उच्चस्तरीय अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गरिएको छ ।

‘शान्ति, समृद्धि र दिगोपनाका लागि समग्र आरोग्य’ भन्ने विषयमा सम्पन्न कार्यक्रममा विभिन्न देशका प्रतिनिधि, अन्तर्राष्ट्रिय निकायका अधिकारी, वैज्ञानिक, अनुसन्धानकर्ता, आरोग्य अभ्यासकर्ता तथा नीति निर्माताहरू सहभागी थिए ।

कार्यक्रममा नेपालका तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एल पि भानु शर्माले आरोग्यका विषयमा प्रस्तुति गर्दै योग, ध्यान तथा स्वजागरणको अभ्यास गराउनु भयो । उहाँले आरोग्य केवल शारीरिक स्वास्थ्यमा सीमित नभई चेतना, सजगता र आत्मसम्बन्धमार्फत जीवनलाई समग्र रूपमा अनुभव गर्ने प्रक्रिया भएको स्पष्ट पार्नुभयो । प्रस्तुतिका क्रममा शर्माले वर्तमान विश्वको मुख्य समस्या आन्तरिक असन्तुलन भएको उल्लेख गर्दै यसको समाधान चेतना र सजगताको विकासमा निहित रहेको बताउनुभयो । उहाँले नेपालसँग विश्वले खोजिरहेको आरोग्यसम्बन्धी ज्ञान र अभ्यास उपलब्ध रहेको उल्लेख गर्दै यस क्षेत्रमा नेपालले नेतृत्व लिन सक्ने स्पष्ट पार्नुभयो । साथै उहाँले अन्तर्राष्ट्रिय समुदायलाई सहकार्यका लागि आह्वानसमेत गर्नुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिसहरू मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट प्रभावित छन् । यस्तो अवस्थामा आरोग्यको समग्र दृष्टिकोणले व्यक्ति तथा समाजलाई सन्तुलन र शान्तितर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।

नेपालले संयुक्त राष्ट्रसंघमा पेश गरेको प्रस्तावका आधारमा अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गरिएको हो, जसलाई १४३ सदस्य राष्ट्रहरूको समर्थन प्राप्त भएको छ ।

यसअघि, अप्रिल १५ मा टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस विशेष कार्यक्रमका साथ मनाइएको थियो । करिब १,००० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सरकारका उच्च पदाधिकारी, आरोग्य अभियन्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । सो अवसरमा श्रद्धेय भानु गुरुदेवद्वारा सामूहिक योग तथा ध्यान सत्र सञ्चालन गर्नुका साथै नेपाल सरकारद्वारा ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा गरिएको थियो ।

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्