आईटी व्यवसायीका लागि माछापुच्छ्रे बैंकले ल्यायो ‘एमबीएल आईटी कर्जा’
काठमाडौं । सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई वित्तीय सहयोग पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले ‘एमबीएल आईटी कर्जा’ नामक नयाँ कर्जा योजना सुरु गरेको छ।
यस योजनामार्फत नेपालका आईटी तथा सफ्टवेयर कम्पनीहरूलाई चालू पुँजी, पूर्वाधार निर्माण र व्यवसाय विस्तारका लागि सहज रूपमा ऋण उपलब्ध गराइनेछ। साथै नेपालमा विकसित हुँदै गएको सूचना प्रविधि क्षेत्रलाई थप बलियो बनाउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने बैंकको अपेक्षा रहेको छ।
यस कर्जाका लागि सम्बन्धित सरकारी निकायमा दर्ता भएका आईटी तथा सफ्टवेयर फर्म, एकल वा साझेदारी व्यवसाय र प्राइभेट लिमिटेड कम्पनीहरू योग्य हुनेछन्। कर्जाका लागि आवेदन दिने कम्पनीले प्यान र भ्याट नियमित रूपमा तिरेको हुनुपर्नेछ र कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्नेछ।
सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, आईटी सेवा, साइबर सुरक्षा, फिनटेक, कृत्रिम बौद्धिकता तथा मेशिन लर्निङजस्ता क्षेत्रमा कार्यरत कम्पनीहरू यस कर्जाका लागि आवेदन दिन योग्य हुनेछन्।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार
















