एपीएफ चन्द्रगढी महिला गोल्डकपकाे फाइनलमा



झापा ११ वैशाख। चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले हराउँदै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब भद्रपुरमा जारी ओम साई पाथीभरा चन्द्रगढी महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।

मेची रङ्गशालामा खेलको ३४ औँ मिनेटमा रश्मिकुमारी घिसिङको गोलमा एपीएफले अग्रता बनायो ।

पहिलो हाफमा १–० ले अगाडि रहेको एपीएफले दोस्रो हाफमा २ गोल थप्यो । खेलको ४९ औँ मिनेटमा कप्तान अनिता बस्नेतले एपीएफको अग्रता दोब्बर बनाइन् । ६२ औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गर्दै एपीएफको जित सुनिश्चित गरिन् । यो खेलमा उनको यो दोस्रो गोल थियो भने जारी प्रतियोगितामा यो छैटौँ गोल हो । उनी सर्वाधिक गोलकर्ताको सूचीको पहिलो नम्बरमा छिन् । 

खेलको प्लेयर अफ द म्याच एपीएफकी रेनुका नगरकोटी भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

फाइनल खेल बैशाख १४ गते सोमबार हुने आयोजक चन्द्रगढी युथ क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्