विपक्षी दलको सरकारसमक्ष नौ बुँदे माग: बजेट निर्माणमा सहभागितादेखि महँगी नियन्त्रणसम्म
काठमाडौं । तीन विपक्षी दलहरुले सरकारसमक्ष नौ बुँदे माग पेस गर्दै संयुक्त ध्यानाकर्षण गराएका छन्।
बिहीबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा मुलुकको पछिल्लो अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकमा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापा र नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालको सहभागि थिए।
दंगाल, थापा र दुलालद्वारा हस्ताक्षरित विज्ञप्तिमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा रहेका सुकुम्वासी समस्या समाधानका लागि सुरक्षित बसोबासको व्यवस्था गर्न आग्रह गरिएको छ ।
यसैगरी दैनिक उपभोग्य वस्तुहरू (दाल, चामल, तरकारी, तेल)को मूल्य वृद्धिले जनताको भान्सा महँगो भएको भन्दै तत्काल महँगी नियन्त्रण गर्न र सुपथ मूल्यका पसलहरू सञ्चालन गर्न माग गरिएको छ।
यस्तै विपक्षी दलहरूले सुकुमबासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सुरक्षित आवासको सुनिश्चितता गर्नुपर्ने, संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने तथा बजेट निर्माण प्रक्रियामा सबै पक्षको सहभागिता गराउनुपर्ने माग गरेका छन् ।
साथै पेट्रोलियम पदार्थमा भएको पटक९पटकको मूल्य वृद्धिका कारण समग्र क्षेत्रको लागत बढेको भन्दै आपूर्ति शृङ्खला चुस्त बनाउन र उपभोक्तालाई राहत प्याकेज घोषणा गर्न माग गरिएको छ।
प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार
















