काठमाडौंका नदी किनारका सुकुम्वासी बस्तीमा डोजर अभियान जारी
काठमाडौं १९ वैशाख । काठमाडौं उपत्यकाका बागमती र सहायक नदी किनारका सुकुम्बासी र अतिक्रमित बस्ती हटाउने अभियान तीव्र रूपमा जारी छ।
काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काउन सुरु गरिएको छ ।
आज साँझ ६ बजेदेखि यहाँ रहेका घरटहरा हटाउने कार्य सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानअन्तर्गत हाल तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउने कार्य सुरु गरिएको छ ।“
शनिबार बिहानदेखि बालाजुस्थित विष्णुमती नदी र धोबीखोला किनारका घरटहरा हटाइयो। यसैगरी माछापोखरी, तिलगंगा र माछापोखरीको गुम्बा लगायत क्षेत्रमा पनि डोजर चलाइयो।
शुक्रबार बल्खुबाट सुरु भएको यो दोस्रो चरणको अभियान स्वयम्भू, बालाजु–गोंगबु बसपार्क र देवीनगरसम्म चलेको छ।
डोजरसँगै काठमाडौं महानगर प्रहरी बल र सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार
















