डोजर आतंक विरुद्ध धरानमा हजारौं सुकुम्वासी सडकमा



धरान १९ वैशाख । सरकारको सुकुमवासी बस्ती हटाउने अभियानविरुद्ध सुनसरीको धरानमा १० हजारभन्दा बढी सुकुमवासी सडकमा उत्रिएका छन् ।

छाता चोकमा भेला भएका प्रदर्शनकारीहरूले दिनभर नाराबाजी गर्दा मुख्य बजार क्षेत्र तनावग्रस्त बन्यो।

‘बालेन तेरो पाराले, दुःख पाए साराले’ ‘राज्य आतंक बन्द गर’ संविधान अनुसार सबैलाई बाँच्न दे’— जस्ता नारा लगाउँदै सुकुम्बासीले धरानमा प्रदर्शन गरेका हुन ।

नेपाल बसोबास बस्ती संरक्षण समाज धरानका अध्यक्ष सुवास थुलुङ राईको नेतृत्वमा भएको यस आन्दोलनमा नेपाली कांग्रेस, एमाले र नेकपाका स्थानीय नेताहरूले पनि साथ दिए।
अध्यक्ष राईले भने —हामीलाई बसोबासको अधिकार चाहिन्छ, बल प्रयोग होइन। सरकार नहटे कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौं।

धरानमा मात्रै ३० हजारभन्दा बढी सुकुमवासी वर्षौंदेखि सार्वजनिक जग्गामा बसोबास गर्दै आएका छन्। विकल्प नदिई जबरजस्ती हटाउनु मानव अधिकारको उल्लंघन भएको प्रदर्शनकारीहरूको भनाइ छ।

तर कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघाले भने सुकुमवासीका घरमा डोजर नचलाउने र घरबारविहीन नबनाउने आश्वासन दिएका छन्।

सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि संवाद र सहमति नै एकमात्र बाटो भएको स्थानीयहरूको भनाइ छ।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्