नेपाल–श्रीलंका बीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु



काठमाडौँ, २९ वैशाख । नेपाल र श्रीलंका बीच अन्तरदेशीय डिजिटल भुक्तानीलाई सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यसहित क्रस–बोर्डर क्यूआर (QR) भुक्तानी सेवा औपचारिक रूपमा सुरु गरिएको छ ।

श्रीलंकाको लङ्कापे (LankaPay) र नेपालको नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) बीचको सहकार्यमा सुरु गरिएको यस सेवामार्फत अब श्रीलंका भ्रमण गर्ने नेपालीहरूले ConnectIPS वा अन्य मोबाइल बैंकिङ एपमार्फत त्यहाँ रहेका चार लाखभन्दा बढी LankaQR मर्चेन्टमा क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।

श्रीलंकाको कोलम्बोमा आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंक, श्रीलंकाको केन्द्रीय बैंक, नेपाल क्लियरिङ हाउस, लङ्कापे तथा दुवै देशका बैंक तथा वित्तीय संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा यो सेवा संयुक्त रूपमा सार्वजनिक गरिएको हो ।

यस पहललाई दक्षिण एशियाली देशहरूबीच डिजिटल भुक्तानी प्रणालीको क्षेत्रीय अन्तरआबद्धताका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । सेवा सुरु भएसँगै नेपाल र श्रीलंका बीच सुरक्षित, रियल–टाइम तथा अन्तरआबद्ध डिजिटल भुक्तानी प्रणाली थप सुदृढ हुने विश्वास गरिएको छ ।

नेपाल र श्रीलंका बीच लामो समयदेखि ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहँदै आएको छ । पछिल्लो समय बढ्दो पर्यटन र व्यापारिक गतिविधिले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाइरहेका बेला यो सेवा पर्यटक तथा व्यवसायिक यात्रुका लागि थप सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल र श्रीलंकाका राष्ट्रिय भुक्तानी पूर्वाधारबीचको अन्तरआबद्धताले साना तथा मझौला व्यवसायलाई समेत अन्तर्राष्ट्रिय ग्राहकसम्म पहुँच विस्तार गर्ने अवसर सिर्जना गर्ने विश्वास गरिएको छ ।

यस व्यवस्था अनुसार नेपाली प्रयोगकर्ताले नेपालका सहभागी डिजिटल भुक्तानी एपमार्फत श्रीलंकामा LankaQR स्क्यान गरेर रियल–टाइममा भुक्तानी गर्न सक्नेछन् । राष्ट्रियस्तरका सुरक्षित भुक्तानी प्रणालीमार्फत हुने भएकाले यो सेवा प्रयोगकर्ता र व्यवसायी दुवैका लागि भरपर्दो र सुरक्षित माध्यमका रूपमा रहने बताइएको छ ।

प्रारम्भिक चरणमा यो सेवा Maxis Sunrise Bank लाई Issuer Bank का रूपमा सहभागी गराएर सुरु गरिएको हो । यस अन्तर्गत उक्त बैंकद्वारा जारी डलर कार्डहरू ConnectIPS एपसँग लिंक गरी श्रीलंकामा क्यूआर भुक्तानी गर्न सकिनेछ । आगामी दिनमा अन्य मोबाइल बैंकिङ एपहरूमा समेत यो सुविधा विस्तार गरिने जनाइएको छ ।

क्रस–बोर्डर क्यूआर भुक्तानीको यो व्यवस्थाले क्षेत्रीय डिजिटल वित्तीय सेवाको विस्तार, आधुनिक भुक्तानी प्रणालीको स्वीकार्यता वृद्धि तथा दक्षिण एशियाली देशहरूबीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्