एक महिनामा ५२ हजारभन्दा बढी भक्तजनले गरे पाथीभराको दर्शन
ताप्लेजुङ, १ ताप्लेजुङ ।
पछिल्लो एक महिनामा ५२ हजारभन्दा बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार वैशाख महिनामा मात्रै ५२ हजार २२८ जना भक्तजन पाथीभरा दर्शनका लागि पुगेका हुन् ।
वैशाखभरि मौसम प्रतिकूल रहँदै वर्षा र झरी भए पनि भक्तजनको आगमन उल्लेख्य रहेको समितिले जनाएको छ । पाथीभराप्रति गहिरो आस्था र विश्वास भएकै कारण प्रतिकूल मौसमको समेत पर्वाह नगरी भक्तजन दर्शनका लागि पुगेको समितिको भनाइ छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार नेपालका विभिन्न जिल्ला तथा भारतको सिक्किम, दार्जिलिङ र पश्चिम बङ्गाललगायत क्षेत्रबाट समेत भक्तजन पाथीभरा दर्शनका लागि आएका थिए ।
भक्तजनको सङ्ख्या बढेसँगै भेटी रकममा पनि उल्लेखनीय वृद्धि भएको छ । समितिका अनुसार वैशाख महिनामा मात्रै एक करोड ६ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ ।
यसअघि चैत महिनामा ५८ लाख ४४ हजार ५०० रुपैयाँ भेटी सङ्कलन भएको थियो । एक महिनामै भेटी रकममा उल्लेखनीय वृद्धि भएको समितिको तथ्याङ्कले देखाएको छ ।
पूर्वी नेपालको प्रमुख धार्मिक गन्तव्यका रूपमा रहेको पाथीभरामा पछिल्लो समय आन्तरिक तथा भारतीय धार्मिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।
प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार
















