सूर्य नेपाल च्यालेन्ज आजदेखि



काठमाडाैं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा आयोजना हुँदै छ । यो प्रतियोगिता आगामी शुक्रबारसम्म चल्नेछ ।

७२ होलको प्रतियोगितामा ३९ जना व्यावसायिक (प्रोफेसनल) तथा १२ जना एमेच्योर गल्फरले भाग लिँदै छन् । पहिलो ३६ होलपछि कट लागू गरिनेछ । त्यसपछि उत्कृष्ट १८ प्रोफेसनल तथा प्रोफेसनल कट पार गर्ने एमेच्योर खेलाडीले अन्तिम ३६ होलमा स्थान बनाउनेछन् ।

सूर्य नेपाल च्यालेन्जलाई लक्षित गर्दै गल्फ कोर्सको अवस्था विशेष रूपमा सुधार गरिएको छ । जसमा अधिकांश खेलाडी प्रतियोगिताअघि अभ्यास राउन्डमार्फत कोर्सको अवस्थासँग अभ्यस्त भइरहेका छन् ।

प्रमुख दाबेदारका रूपमा यस सिजन तीन उपाधि जितिसकेका भुवन नगरकोटी, विजेता नीरज तामाङ, शुक्रबहादुर राई, दिनेश प्रजापति तथा जयराम श्रेष्ठ रहेका छन् ।

एमेच्योरतर्फ सूर्य नेपाल सेन्ट्रल ओपनका विजेता राहुल विश्वकर्मा पनि दाबेदार मानिएका छन् ।प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख १० हजार रहेको छ । विजेताले एक लाख ३० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्